अस्ट्रिचपालनमा सवा अर्बभन्दा बढी लगानी भइसक्यो

सीपी शर्मा सञ्चालक, अस्ट्रिच नेपाल प्रालि

नेपाली व्यवसायीमा सिर्जनशीलता कम र देखासिकी बढी छ । उद्यमशीलता अभावले समग्र व्यावसायिक क्षेत्र अस्वस्थ प्रतिस्पर्धाको मारमा छ । लगानीका सम्भाव्य अवसर धेरै भए पनि अरूकै व्यवसायको नक्कल गरेर रातारात धनी बन्न खोज्ने प्रवृत्ति हावी देखिएको छ । यसमा कोहीले भने सिर्जनशील भएरै नाम पनि कमाएका छन् । रूपन्देहीको गंगोलियामा ७ वर्षदेखि देशमै पहिलोपटक अस्ट्रिचको व्यावसायिक पालनमा लागेका सीपी शर्मा समकालीन व्यवसायीभन्दा पृथक् र साहसी पनि मानिन्छन् । सन् १९९८ मा उच्च शिक्षा अध्ययनका क्रममा युक्रेन रहँदा त्यहाँ अस्ट्रिच पालेको देखेका उनले स्वदेश फर्केर जोखिम मोल्दै यसलाई नै व्यावसायिक रूप दिए । नेपाल आएर अस्ट्रिच नेपाल प्रालि नामक कम्पनी दर्ता गरी उनले सुरु गरेको यो व्यवसायको चर्चा मुलुकभर फैलिएको छ । ठूलो लगानीका साथै साहस चाहिने यो व्यवसाय गर्दाका अनुभव, यसको सम्भावनालगायतका विषयमा केन्द्रित रही शर्मासँग कारोबारकर्मी मनोरञ्जन शर्माले गरेको कुराकानी :

नेपालमा कसैले आँट गर्न नसकेको अस्ट्रिच फार्मिङको अहिलेसम्मको तपाईंको अनुभव कस्तो रह्यो ?
पक्कै पनि नेपालमा कसैले आँट गर्न नसकेको अस्ट्रिचपालन (फार्मिङ) मैले नै व्यावसायिक रूपमा सुरु गरेको हँु । अरूको त कुरै छाडौं, साथीभाइ र घरपरिवारले पनि यस्तो व्यवसाय कसरी सफल हुन्छ भन्दै प्रश्न गर्ने अवस्था थियो । नयाँ काम सुरु गर्दा एक्लै होइन्छ भन्ने ज्ञान मलाई पहिलेदेखि नै थियो । त्यही दृढ विश्वासका कारण म आज यहाँसम्म आइपुगेको छु । व्यवसाय सुरु गरेपछि बाधाअड्चन आउनु स्वाभाविक पनि हो तर यसबाट विचलित नभई शिक्षा लिनुपर्छ भन्ने मेरो मान्यता हो । यही मान्यताकै कारण होला, मैले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । अहिलेसम्मको अनुभवको कुरा गर्ने हो भने मैले हरेक दिन स्कुले विद्यार्थीजस्तो नयाँ–नयाँ कुरा सिकिरहेको हुन्छु । दिन–दिनै समस्या झेल्नुपर्छ । यसको समाधानसँगै नयाँ अनुभव पनि सँगालिरहेका कारण मैले आफूलाई भाग्यमानी सम्झिरहेको छु । अहिलेसम्मको अनुभवले मलाई अझै बढी अनुभूति र अगाडि बढ्ने प्रेरणा दिएको छ ।

तपाईं अस्ट्रिचपालन सुरु गर्ने बेला जुन उद्देश्य लिएर अघि बढ्नुभएको थियो अहिले त्यही बाटोमा हुनुहुन्छ कि बदल्नुभयो ?
‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने कविताको अंश यहींनेर लागू हुन्छ । मैले यही वाणी अनुशरण गर्दै नेपालमा कसैले पनि नगरेको यो व्यवसायलाई पूर्णतः व्यावसायिक रूपमा सुरुवात गरेको हुँ । मैले जुन उद्देश्य लिएर अस्ट्रिचपालनको काम सुरु गरेको थिएँ म अहिले पनि त्यही बाटोमा निरन्तर छु । अगाडि बढेपछि बाटो बदल्ने कुरै आउँदैन । झनै नयाँ–नयाँ प्रविधि यो व्यवसायमा लगाउँदै अन्य स्थानमा पनि अस्ट्रिचपालन कार्य विस्तार भइरहेको छ । हाम्रो लक्ष्य मासुजन्य वस्तु (खसी–बोकालगायत)को विदेशबाट हुने आयात प्रतिस्थापन गर्दै स्वदेशमा मात्र नभई विदेशका उपभोक्तामाझ पनि स्वस्थकर अस्ट्रिचको मासु उपलब्ध गराउने हो । त्यसमा हामी सफल भइरहेका छौं र आफ्नो लक्ष्यप्रति दृढ पनि छौं ।

तपाईंले अस्ट्रिचपालनका लागि अहिलेसम्म कति लगानी गर्नुभयो ? प्रतिफल कस्तो छ ?
अहिलेसम्म १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । अन्य उद्योग–व्यवसायमा झैं यो व्यवसायबाट तत्काल प्रतिफल आउँदैन । प्रतिफल बिस्तारै आउँछ भन्नेमा म सुरुमै मानसिक रूपमा तयार थिएँ । ‘लङटर्म प्रोजेक्ट’ भएका कारण तत्कालै प्रतिफलको आस गर्न मिल्दैन, कम्तीमा पनि १० देखि १२ वर्ष कुर्नुपर्छ । यो व्यवसाय सुरु भएको बल्ल ७ वर्ष पूरा भएको छ । राम्रो प्रतिफलका लागि अझै २–३ वर्ष कुर्नुपर्ने हुन्छ । तर, ७ वर्षको अवधिलाई पनि राम्र्रै मान्नुपर्छ । उपलब्धि सन्तोषजनक नै छ ।

यस वर्ष दसैंका बेला सबै उपभोग्य वस्तुको भाउ बढेको छ तर अस्ट्रिचको मासु सस्तोमै बिक्री गरिरहनुभएको छ, किन ?
मैले अस्ट्रिचको मासुको मूल्य घटाउनु व्यक्तिगत नभई राष्ट्रिय आवश्यकताका कारणले हो भन्ने बुझ्नु जरुरी छ । एकातिर मुलुक वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि गम्भीर आर्थिक संकटमा परेको थियो भने अर्कोतिर लामो समयदेखिको बन्द–हड्तालका साथै भारतको अघोषित नाकाबन्दीका कारण उपभोग्य वस्तुको अभाव चुलिएको छ । दसैं भनेको मूलतः मासु खाने पर्व नै भनेर पनि बुझिन्छ । त्यही भएर यो वर्ष खसी–बोका र कुखुराकै मासुको मूल्य पनि विगत वर्षजस्तो रहने अवस्था देखिँदैन । हामीले यो बेला अरू वस्तुको भाउ बढेको छ भनेर आफ्नो उत्पादनको पनि बढाउन सक्थ्यौं । तर, हामी मुलुक र उपभोक्ताप्रति पनि जिम्मेवार र जवाफदेही व्यवसाय गर्ने भएका कारण त्यस्तो मौकाको फाइदा उठाउने काम भने गरेनौं । उपभोक्तालाई मासुजन्य वस्तुबाट बञ्चित हुन नपरोस् भन्दै खसी–बोकाको मूल्यभन्दा खासै फरक नपर्ने गरी सम्भव भएसम्म नेपालका विभिन्न क्षेत्रमा अहिलेको प्रतिकूल अवस्थाका बाबजुद सस्तोमा उपलब्ध गराएका छौं । हामी अहिले बजार मागअनुसार त उपलब्ध गराउन सक्ने अवस्थामा छैनौं । तापनि, ६ लाख किलोसम्म उपलब्ध गर्न सक्ने अवस्थामा छौं । अहिले अस्ट्रिचको मासुको मूल्य हाडसहितका लागि १ हजार, हाड नभएको मासु मात्रै १५ सय र बिनारेसाको मासु २२ सय रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराएका छांै ।

रूपन्देही र दाङबाहेक मुलुकका अन्य भागमा अस्ट्रिचपालनका सम्भावना कति छ ?
हाम्रो देशका हरेक क्षेत्रमा अस्ट्रिचपालनको उत्तिकै सम्भावना छ । म आफैंले रूपन्देहीपछि दाङको बिजौरीमा १०० बिघा क्षेत्रफलमा पनि यो व्यवसाय विस्तार गरेको छु । रूपन्देहीकै सुर्यपुरामा ६ कृषक समूहले कन्ट्र्याक फार्मिङ पनि गरिरहेका छन् । त्यस्तै, पूर्वी नेपालको इलाम, झापा, मोरङ (विराटनगर)मा पनि कृषकले यहाँबाटै लगेर कन्ट्र्याक फार्मिङका रूपमा अस्ट्रिचपालन सुरु गरिसकेका छन् । हावापानी र अल्टिच्युड मिल्ने कुनै पनि पहाडी, मध्य हिमाल र तराई– मधेसमा सजिलै यो पाल्न सकिन्छ । तर, सरकारले अहिलेसम्म पनि यो व्यवसायको सम्भावना र भविष्यप्रति चासो देखाएको छैन । त्यस्तो अवस्थामा देशभर यो पालन गरेर भविष्यको निर्यात सम्भावना मात्र नभई हुन सक्ने कुनै पनि किसिमको  जोखिमप्रति सरकारले नीति बनाउनुपर्छ । अहिलेसम्म हामी निजी क्षेत्रले जे जति काम गरिरहेका छौं, त्यसबाट सिक्दै सरकारले पनि अब समन्वयकारी नीति बनाउनु जरुरी छ । सरकारको सहयोग भयो भने अस्ट्रिचपालनमा नेपालले निकै फड्को मार्न सक्ने अवस्था छ ।

नेपालमा अस्ट्रिच हेर्न चाहनेहरू पनि धेरै छन् । तपाईंले ‘अस्ट्रिच पर्यटन’को सम्भावना कत्तिको देख्नुभएको छ ?
अस्ट्रिच हेर्नेको संख्या अहिले धेरै बढिरहेको छ । यही फार्म हाउस (रूपन्देही, गंगोलिया)मा वार्षिक १ लाखभन्दा बढी अवलोकनका लागि आउने गरेका छन् । त्यसैले पनि अस्ट्रिच पर्यटनको सम्भावना बढी छ । वार्षिक १ लाख अवलोकनकर्ता आउनु भनेको पर्यटनको सम्भावना बढ्नु नै हो । यसमा सरकार र सरोकारवाला नीति बनाएर अगाडि बढ्नुपर्छ । निजी क्षेत्र एक्लैले केही गर्न सक्दैन । सरकार मात्र होइन, स्थानीय निकाय र पर्यटनसँग सम्बन्धित व्यवसायी तथा संघसंस्थाले पनि यसमा ध्यान दिनु जरुरी देखिन्छ ।

अस्ट्रिचको मासुलाई निकै पौष्टिक र गुणकारी भन्ने गरिन्छ, साँच्चीकै प्रचार गरिएजस्तै यो गुणकारी छ र ?
तपाईंले उपयुक्त प्रश्न गर्नुभयो किनकि यो त भन्नै पर्ने कुरा थियो । अस्ट्रिचको मासुलाई संसारभर निकै पौष्टिक र गुणकारी मानिन्छ । साँच्चै भन्ने हो भने प्रचारमा आएभन्दा पनि अझ बढी गुणकारी छ अस्ट्रिच । अस्ट्रिचको मासुमा ओमेगा ३, ६, ९ प्रशस्त पाइन्छ भने यो भिटामिन ‘ई’को खानी हो । प्रोटिनको मात्रा बढी छ र मासुहरूमध्ये सबैभन्दा कम कोलस्ट्रोलको मात्रा यसमा हुने र सेचुरेटेड फ्याट नभएको मासु भएकाले पौष्टिक र गुणकारी भनिएको हो । यसलाई वैज्ञानिकले प्रमाणित पनि गरिसकेका हुन् । मासु मात्र होइन, यसको अन्डाको खोल, छाला, हड्डी, प्वाँख सबै महँगो मूल्यमा बिक्री हुने हुँदा अझ बढी गुणकारी देखिएको छ ।

अस्ट्रिचको मासु सुरुमा सम्भ्रान्त वर्गलाई लक्ष्य गरिएजस्तो देखिन्थ्यो, अहिले यो मध्यमवर्गको पहुँचमा पुगेको हो ?
सुरुमा अस्ट्रिचको मासुमा सम्भ्रान्त वर्गको मात्र पहँुचमा हो कि भन्ने सबैले ठान्ने गर्थे । तर, अहिले त्यस्तो रहेन । यो धनीको मात्र पहुँचमा रहेन अब । सबै वर्गकाले प्रयोग गर्न थालेका छन् । स्वस्थकर र त्यसमा पनि खसी–बोकाको मूल्यभन्दा खासै फरक नभएकाले मध्यमवर्गको पहँुचमा सजिलै पुगिसकेको छ । अब अस्ट्रिचको मासु सबै वर्गले उपभोग गर्न सक्ने गरी बजारमा आइसकेको छ ।

अस्ट्रिच फार्म विस्तारका योजना के के छन् ?
हामीले अस्ट्रिच फार्म विस्तारको काम सुरु गरिसकेका छौं । रूपन्देहीको सुर्यपुरामा ६ कृषकले कन्ट्र्याक फार्मिङ गरिरहेका छन् । अर्को वर्षका लागि फेरि १० कृषक समूह तयार भइसकेका छन् । पूर्वी नेपालको इलाम, झापा, मोरङका कृषकले पनि अस्ट्रिचपालन सुरु गरिसकेका छन् । बिस्तारै अस्ट्रिचपालन देशभर हुनेछ ।

नेपाल कहिले अस्ट्रिच निकासी गर्ने मुलुकका रूपमा संसारमा चिनिएला ?
सरकारले उचित नीति निर्माण गरेको खन्डमा र यस किसिमका नयाँ व्यवसायलाई हौसला प्रदान÷प्रोत्साहन गर्ने, सुविधा उपलब्ध गराउने वातावरण बन्यो भने अस्ट्रिचको मासुलगायत धेरै वस्तु सजिलै निर्यात गर्न सकिन्छ । त्यसका लागि धेरै वर्ष कुर्नै पर्दैन । मैले अघि नै भनिसकें कि निजी क्षेत्र एक्लैले केही गर्न सक्दैन । सरकारले सहयोग गरे २ वर्षभित्र अस्ट्रिचको मासु विदेश निर्यात गर्न सक्छौं ।

अस्ट्रिच फार्मिङका लागि राज्यको सहयोग कत्तिको छ ?
म राज्यले सहयोगै गरेन भनेर आरोप लगाउने पक्षमा छैन । सरकारले चाहिनेजति सहयोग गरेको छैन भन्न कुनै संकोच छैन । तर, राज्यका धेरै निकायले प्रशंसा पनि गरिरहेका कारण अब भने बिस्तारै सहयोग होला भन्ने विश्वास छ । उहाँहरूले पनि अस्ट्रिचको महत्व बुझ्नुभएको छ ।

अस्ट्रिचपालन व्यवसायबाट हालसम्म कतिले रोजगारी पाएका छन् ? यसको दाना र औषधोपचार कत्तिको खर्चालु छ ?
यो व्यवसायबाट प्रत्यक्ष १०० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउनेको संख्या ७०० भन्दा बढी छ । तर, औषधोपचार भने निकै महँगो छ । पशुचिकित्सकको दरबन्दी व्यवस्था छ र चिकित्सक पनि कार्यरत छन् । दाना स्थानीयस्तरमै उत्पादन हुन्छ, जसले गर्दा दानाको समस्या पर्दैन । अर्को कुरा सबै अस्ट्रिचको इन्स्योरेन्स गरिएको छ । अघिल्लो वर्ष गरिएको बिमा मुलुककै पशुबिमामध्ये ठूलो हो ।

C

प्रतिकृया